राजविराज भन्सारमा लक्ष्यको ६४ प्रतिशत मात्रै राजस्व संकलन, कर्मचारी अभाव र भन्सार छल्ने प्रवृत्तिको असर
7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार ६ गते । राजविराज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्म जम्मा पाँच करोड ७० लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम कार्यालयले तोकेको आठ करोड ८१ लाख ७९ हजार रुपैयाँ लक्ष्यको मात्र ६४ प्रतिशत हो। अघिल्लो वर्ष २०८०/८१ मा भने कार्यालयले छ करोड ५० लाख ३४ हजारको लक्ष्य तोकेर आठ करोड सात लाख ४७ हजार रुपैयाँ संकलन गरी १२४.१६ प्रतिशत उपलब्धि हासिल गरेको थियो। तर यस वर्ष खुलेको सीमा, भन्सार छल्ने प्रवृत्ति र व्यापारी–प्रशासनको मिलोमतोका कारण लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको भन्सार अधिकृत सत्यनारायण सिंहले जानकारी दिए।
उनका अनुसार, सीमा क्षेत्र कडाई गरिएमा र सबैले इमानदारीपूर्वक कर तिरेमा सप्तरीबाट अर्बौं रुपैयाँ राजस्व संकलन सम्भव हुन्छ। यद्यपि, कार्यालयमा आवश्यक दरबन्दी नहुँदा पनि काममा कठिनाइ भएको छ। अधिकृत सिंहका अनुसार १० जना कास पदाधिकारीका लागि दरबन्दी भए पनि हाल दुई मात्र कार्यरत छन्। यस्तै, आठ जना सुब्बा आवश्यक भए पनि तीन मात्र छन्, जसका कारण सुब्बाको नेतृत्वमा रहेका साना भन्सार कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको छ। चालु वर्षमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयबाट आएको चार सय आठ मुद्दामध्ये तीन सय १३ वटा मुद्दा टुंग्याइएको उनले बताए।
कमेन्ट गर्नुहोस्
view comments