तराईका जिल्लामा सर्पदंशको बढ्दो जोखिम, उपचार केन्द्रहरूमा बिरामीको चाप उच्च

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ५ गते । गर्मीको मौसमसँगै सर्लाहीसहित तराईका विभिन्न जिल्लामा सर्पदंशका बिरामीको चाप तीव्र रूपमा बढेको छ। सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा मात्रै जेठ महिनामा १०२ जना बिरामीको उपचार गरिएको छ, जसमा ४१ पुरुष, ५१ महिला र १० बालबालिका छन्। असार लागेपछि सर्पदंशका घटना झनै बढेका छन् भने असार १ गते एकैदिन सात जना भर्ना भएका छन्। बुधबार मध्याह्नसम्म १४ जना सर्पदंशका बिरामी भर्ना भइसकेका छन्। उता, प्रादेशिक अस्पताल मलङ्गवामा वैशाखमा १२५ र जेठमा २१२ जना सर्पदंशका बिरामी भर्ना भएका थिए भने असारमा हालसम्म २८ जनाको उपचार भएको छ।

बरहथवा नगर अस्पतालमा पनि बिरामीको संख्या बढ्दो छ, जहाँ वैशाखमा ५, जेठमा १३ र असारमा २ जनाको उपचार गरिएको छ। चिकित्सकहरूका अनुसार वर्षा भएपछि जमिन तात्दा विषालु सर्पहरू बाहिर निस्कने सम्भावना बढ्ने भएकाले सचेत रहन आग्रह गरिएको छ। सर्पदंशको उपचार भइरहेको केन्द्रहरूमा आवश्यक आइसियु र भेन्टिलेटर सुविधा नभएकोले गम्भीर बिरामीलाई वीरगन्ज, जनकपुर वा भारतसम्म रिफर गर्नुपरेको छ। हाल सर्पदंशको उपचार एन्टी स्नेक भेनमको भरमा मात्र भइरहेको छ, जसले उपचार चुनौतीपूर्ण बनाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?