रौतहटका दर्जनौं पुल अलपत्र: ठेक्का तोड्ने कि ठेकेदार फकाउने भन्नेमा सडक डिभिजन दुविधामा

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, असार ४ गते । रौतहटका दर्जनौं पुल निर्माण समयमै सम्पन्न हुन नसक्दा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर ठेकेदारसँग सम्झौता तोड्ने कि फकाएर काम गराउने भन्ने दोधारमा परेको छ। स्थानीय चाँदी नदीमा निर्माण भइरहेको गैंडाटार–चन्द्रनिगाहपुर पुलसहितका पुलहरू पटक–पटक म्याद थपिए पनि निर्माण अलपत्र छन्। चाँदी पुल निर्माणका लागि जिम्मेवार पप्पु/शिवशंकर जेभीले २०७४ मा सम्झौता गरे पनि ८ वर्षमा ७५ प्रतिशत मात्र काम गरेको छ। स्थानीयको दबाबपछि सडक डिभिजन प्रमुख अरुणकुमार लालकर्ण ठेकेदारलाई फकाएर काम गराउने रणनीतिमा लागेका छन्, यद्यपि ठेकेदारले काम गर्न सक्ने अवस्था देखिएको छैन।

पप्पु कन्स्ट्रक्सन र त्यसका साझेदारहरूले रौतहटमा लिएको पाँच पुलको ठेक्कामध्ये कुनै पनि समयमै सम्पन्न भएको छैन। टिकुलियाको लालबकैया पुल, वाग्मती बडहर्वा पुल, कटहरिया–झाझ नदी पुल, मिठुअवा पुलजस्ता आयोजनाहरूमा वर्षौं बित्दा पनि ५०–६० प्रतिशत मात्र भौतिक प्रगति भएको छ। कतिपय पुलको ठेक्का दोस्रोपटक नयाँ कम्पनीलाई दिइए पनि कामको गति सुस्त छ। सडक डिभिजनका अनुसार ठेकेदारको लापरबाहीसँगै सरकारले बजेट नदिँदा समस्या झन चर्किएको छ। स्थानीय अनशन, चक्काजाम र कार्यालय घेराउसम्म उत्रिएको अवस्थामा पनि डिभिजन कार्यालय निर्माण कार्यमा निर्णायक कदम चाल्न अझै नसकेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?