सप्तरीमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते
2 महीना पहिले प्रकाशित

जनकपुरधाम, असार ४ गते । सप्तरीको शम्भुनाथ नगरपालिका–२ स्थित गोविन्द चौकमा मंगलबार राति ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा रुपनी गाउँपालिका–१ निवासी २० वर्षीय मो. आजाद मियाँको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ गइरहेको स १ त ४९७२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्र २–००१–प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
घाइते अवस्थामा उद्धार गरिएका आजादलाई युनिक अस्पताल रायपुर हुँदै गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुर्याइए पनि उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय मो. समिर मियाँलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। दुर्घटनामा संलग्न ट्याक्टर, मोटरसाइकल र ट्याक्टर चालक कैलाशकुमार यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments