सर्लाहीमा हावाहुरीले गोठ भत्किँदा दुई भैँसीको ज्यान गयो, लाखौँको क्षति

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, असार ४ गते । सर्लाहीको बागमती नगरपालिका–३, जिरायतमा बुधबार बिहान आएको हावाहुरीका कारण खपडाले छाएको गोठ भत्किँदा दुई वटा भैँसीको ज्यान गएको छ। व्यवसायिक पशुपालन गर्दै आएका किसान रामप्रताप रायको गोठ भत्किँदा त्यसमा रहेका दुई भैँसी च्यापिएर मरेका हुन्। घटनाबाट करिब तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पीडित रायले बताएका छन्।

गोठ भत्किँदा थप दुई भैँसी घाइते भएका छन् भने बाँकी नौ भैँसी सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए। गाउँलेको सहयोगमा भत्किएको गोठबाट काठ दाउरा हटाएर बाँकी भैँसीहरूलाई सुरक्षित निकालिएको हो। मङ्गलबार रातिदेखि आएको हावाहुरी र वर्षाका कारण जिरायतमा यो एक मात्र क्षतिको घटना भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?