गौशालामा उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, दर्ता-चलानी फाइल नियन्त्रण लिएपछि विवाद चुलियो

14 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ३ गते ।  गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुशवाहालाई नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा आइतबारदेखि कार्यालय प्रवेशमा रोक लगाइएको छ। कुशवाहाले सामाजिक सञ्जालमा नगरपालिकाको दर्ता-चलानी फाइलहरू अनियमितता ढाकछोप गर्न खाली राखिएको दाबी गर्दै ती फाइलहरू नियन्त्रणमा लिएको जानकारी दिएकी थिइन्। सोही कदमपछि सोमबार कार्यपालिका बैठकमा सहभागी हुन जाँदा उनलाई गेटमै रोकेको थियो। भिडियो सन्देशमार्फत उपप्रमुखले नगरप्रहरीले 'माथिको आदेश' भन्दै प्रवेशमा अवरोध गरेको दृश्य सार्वजनिक गरेकी छन्।

उपप्रमुख कुशवाहाले पटक–पटक पत्राचारमार्फत आवश्यक कागजात माग्दा समेत बेवास्ता भएको र अनुगमनसम्बन्धी पत्रहरूमा जवाफ नआएपछि आफूले दर्ता-चलानी फाइल नियन्त्रणमा लिएको स्पष्ट गरेकी छन्। उनले फाइल नियन्त्रणमा लिएपछि आफ्नो कार्यकक्षमा तोडफोडसमेत गरिएको सूचना प्राप्त भएको पनि बताएकी छन्। मेयर डा. दीपेन्द्र महतो र उपमेयर कुशवाहा दुवै जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भए पनि निर्वाचनपछि नै उनीहरूबीच विवाद गहिरिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?