महोत्तरीमा स्यालको आक्रमण: वृद्ध गम्भीर घाइते, नगरपालिकाले उपचार खर्च बेहोर्ने
9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २ गते । बर्दिवास नगरपालिका–७ फूलबारी टोलमा आइतबार राति सुतिरहेका ६३ वर्षीय दुखिया सदा स्यालको आक्रमणमा परी गम्भीर घाइते भएका छन्। स्यालले अनुहारमा टोक्दा चिउँडोको मासु नै निस्कने गरी घाउ भएको र हाल सदा गम्भीर अवस्थामा रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। आक्रमणपछि स्थानीयले उनलाई तत्काल उद्धार गरी शुभस्वस्तिक अस्पताल, बर्दिवासमा भर्ना गराएका हुन्।
सदा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका व्यक्ति हुन्। उनको उपचार खर्च नगरपालिकाले व्यहोर्ने नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले जानकारी दिएका छन्। उनले यस घटनालाई दुःखद र चिन्ताजनक भन्दै विपन्न नागरिकको जीवन सुरक्षामा नगरपालिका प्रतिवद्ध रहेको उल्लेख गरे। नगरप्रमुख क्षेत्रीका अनुसार सदा उपचारका लागि आवश्यक सम्पूर्ण सहयोग नगरपालिकाले उपलब्ध गराउनेछ।
स्थानियवासीका अनुसार हालैका दिनमा फूलबारी टोल र वरपरका क्षेत्रमा जङ्गली जनावरहरूको उपस्थिति बाक्लो भएको छ। रातिको समयमा स्याल र नीलगाईजस्ता वन्यजन्तुहरू बस्तीमा प्रवेश गरी आक्रामक गतिविधि गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्। उनीहरूले जङ्गली जनावरको आतंक नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
कमेन्ट गर्नुहोस्
view comments