असार १ देखि नदीजन्य पदार्थ उत्खनन् रोक्न प्रशासनको निर्देशन

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ ३० गते ।  जिल्ला प्रशासन कार्यालय रौतहटले आगामी असार १ गतेदेखि ढुङ्गा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थको उत्खनन् कार्य प्रतिबन्धित गर्ने निर्णय गरेको छ।ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड (पहिलो संशोधन), २०७९ अनुसार प्रत्येक वर्षको असार १ देखि भदौ मसान्तसम्म उत्खनन् गर्न नपाइने व्यवस्था छ। सोही अनुसार जिल्लास्थित सबै पालिकाहरूलाई जेठ मसान्तभित्र उत्खनन् कार्य सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले पत्राचार गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीले जानकारी दिनुभयो।

प्रशासनले मनसुनको समयमा देखिन सक्ने विपद् (जस्तै बाढी, कटान) लाई ध्यानमा राख्दै यो निर्णय लिएको हो। मापदण्डको दफा ४ को उपदफा १६ मा स्पष्ट भनिएको छ कि “असार १ देखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन् गर्न पाइँदैन,” जसअनुसार यो निर्देशन लागू हुने जनाइएको छ। निर्देशनको पालना नगर्नेहरूमाथि कानुनी कारबाही हुने चेतावनी समेत प्रशासनले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?