अत्यधिक गर्मीका कारण कलैया उपमहानगरपालिकाका विद्यालयहरू तीन दिनका लागि बन्द

22 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २७ गते । कलैया उपमहानगरपालिका, बारा अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरू अत्यधिक गर्मीका कारण तीन दिनका लागि बन्द गरिने भएको छ। नगर शिक्षा महाशाखाले जारी गरेको सूचनाका अनुसार मिति २०८२ जेठ २८ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द रहनेछ। यस निर्णयमा उल्लेख गरिएअनुसार गर्मीका कारण विद्यार्थीहरू मुर्छा परेको जानकारी प्राप्त भएकोले उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो।

नगर शिक्षा समितिको मिति २०८२ जेठ २७ गतेको निर्णय अनुसार, तीन दिनको बिदा वार्षिक बिदाबाट कट्टा गरिनेछ। मिति २०८२ असार १ गते आइतबारदेखि पुनः नियमित रूपमा कक्षा सञ्चालन गर्न सबै विद्यालयहरूलाई अनुरोध गरिएको छ।

यस निर्णयको जानकारी नगर प्रमुखको सचिवालयलाई समेत दिइएको छ। पत्रमा नगर शिक्षा शाखाका प्रतिनिधि राजिव कुमार यादवको दस्तखत रहेको छ। यो निर्णयले विद्यार्थीहरूको स्वास्थ्यलाई प्राथमिकता दिएको स्पष्ट देखिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?