मणिपुरमा जातीय हिंसापछि कर्फ्यू र इन्टरनेट बन्द, पाँच दिनका लागि सेवा अवरुद्ध

4 महीना पहिले प्रकाशित

एजेन्सी, जेठ २५ गते । भारतीय राज्य मणिपुरमा जातीय तनाव फेरि चर्किएपछि सुरक्षा अवस्था जटिल बनेको छ। कट्टरपन्थी मैतेई समूह अरम्बाई तेङ्गोलका एक कमाण्डरसहित पाँच जना सदस्यको गिरफ्तारीपछि प्रदर्शनकारीहरू आक्रोशित बनेका थिए। उनीहरूको रिहाइको माग गर्दै भिडले प्रहरी चौकीमा आक्रमण मात्र गरेन, इम्फालका केही क्षेत्रमा बसमा आगजनी र सडक अवरोध पनि गर्‍यो। प्रहरीले इम्फाल पश्चिम र विष्णुपुरसहित पाँच जिल्लामा कर्फ्यू जारी गरेको छ। हिंसा नियन्त्रणका लागि राज्यको गृह मन्त्रालयले पाँच दिनका लागि इन्टरनेट र मोबाइल डाटा सेवा बन्द गर्न आदेश दिएको छ।

मणिपुरमा मुख्यतः हिन्दू मैतेई र इसाई कुकी समुदायबीचको द्वन्द्व २ वर्षदेखि रहँदै आएको छ। यसले हालसम्म २५० भन्दा बढीको ज्यान लिइसकेको छ भने करिब ६० हजार मानिस विस्थापित भएका छन्। हालैको हिंसा कुकी समुदायविरुद्धको योजनामा संलग्न भएको आरोप लागेका व्यक्तिको गिरफ्तारीपछि सुरु भएको हो। अरम्बाई तेङ्गोलले उपत्यकाका जिल्लाहरूमा १० दिनको बन्दको घोषणा गरेको छ। अधिकारकर्मीहरूले स्थानीय नेताहरूमाथि राजनीतिक लाभका लागि जातीय विभाजन चर्काएको आरोप लगाएका छन्, जबकि राज्यका हजारौँ बासिन्दा अझै पनि तनावका कारण घर फर्कन सकेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?