बागमती नदीको कटावले सतायो रूसुलपुर गाउँ, सीतामढीका बासिन्दा त्रासमा

2 महीना पहिले प्रकाशित

एजेन्सी, जेठ २५ गते । बिहारको सीतामढी जिल्लाको मेजरगञ्ज प्रखंड अन्तर्गत पर्ने रूसुलपुर गाउँमा बागमती नदीको कहरले बर्सेनि जनजीवन अस्तव्यस्त बनाउँदै आएको छ। झण्डै १५० परिवार र करिब १००० जनसंख्या रहेको यो गाउँका अधिकांश बासिन्दा खेतीपातीमा निर्भर छन्। तर हाल नदीको जलस्तर बढ्दै गएकाले बागमतीले बिस्तारै खेत कटान गर्न थालेको छ। किसानहरू आफ्ना उपजाऊ जमिन आँखा अगाडि नदीमा समाहित हुँदै गएको देखेर अत्यन्तै पीडित छन्। प्रत्येक वर्ष बाढी आउँदा नदीले खेतसँगै घरसमेत बगाउँछ र मानिसहरूलाई पलायन गर्न बाध्य बनाउँछ।

स्थानीय वडाअध्यक्ष राघवेन्द्र कुमार सिंहका अनुसार हालसम्म तटबन्धको मर्मतसम्भार सुरु गरिएको छैन। केवल बोरा भरेर माटो हालेर काम चलाउने गरिएको छ, जुन पर्याप्त छैन। विगत केही वर्षमा बागमतीको कटावले करिब ५० भन्दा बढी घर गुमिसकेका छन्। ग्रामीणहरूले भनेका छन् कि नेपालतर्फ ब्रह्मपुरी, शेरवा र करमवा क्षेत्रमा तटबन्ध निर्माण गर्दा नदीको धार पूर्वतर्फ—रूसुलपुरतिर—सरेको छ, जसले गर्दा यहाँको अवस्था झन गम्भीर बनेको छ। सुप्पी प्रखंडको जमला गाउँमा पनि कटाव तीव्र गतिमा भइरहेको छ, जहाँको विद्यालय भवनसमेत अब नदीको जोखिममा छ। स्थानीयवासीहरूको माग छ—यदि शीघ्र बोल्डर राखेर मजबुत तटबन्ध बनाइएन भने पूरै गाउँ नै नदीमा समाहित हुने खतरा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?