सप्तकोसीमा अभ्यासका क्रममा बेपत्ता दुईमध्ये एक सशस्त्र प्रहरीको शव फेला
16 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ २३ गते । सप्तरीको कोसी नदीमा विपद् सेमुलेशन अभ्यासका क्रममा बेपत्ता भएका दुई सशस्त्र प्रहरीमध्ये एकजनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, इलामस्थित श्रीअन्तु गणमा दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत जवान हरदेब राजबंशीको शव शुक्रबार बिहान घटनास्थलदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ फेला परेको हो।
बिहीबार दिउँसो ३:१० बजे अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी नदीमा सशस्त्रका दुई जवान—हरदेब राजबंशी र नम्बर १३ गण पर्सामा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत जवान सुरज साउद बेपत्ता भएका थिए। घटनापछि खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीको ठूलो टोलीसहित गोताखोर परिचालन गरिएको छ भने साउदको खोजी कार्य जारी छ। संयुक्त अभ्यास सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरी र नम्बर ७ गण सिराहको टोलीले सञ्चालन गरेको थियो।
कमेन्ट गर्नुहोस्
view comments