जनकपुरधाम, जेठ २२ गते । नेपाल स्वास्थ्य व्यवसायी परिषद (एनएचपिसी) ले महोत्तरी जिल्लामा मापदण्ड विपरीत सञ्चालनमा रहेका ६ वटा स्वास्थ्य संस्था तत्कालै बन्द गर्ने निर्णय गरेको छ। परिषद अध्यक्ष डा. सुबोध शर्माको नेतृत्वमा जलेश्वर र बर्दिबास क्षेत्रमा गरिएको अनुगमनबाट सो निष्कर्ष निकालिएको हो। उनले प्रमुख जिल्ला अधिकारीलाई सो निर्णयसहितको प्रतिवेदन बुझाइसकेको जानकारी दिए। अनुगमन टोलीले निरीक्षण गर्दा ती संस्थाहरूमा गम्भीर लापरवाही देखिएको, जनशक्ति अभाव रहेको र बिरामीको सुरक्षासँग प्रत्यक्ष सम्झौता हुने गतिविधि पाइएकाले तत्काल कारबाही गर्न सुझाव दिएको हो।
बन्द गरिनेमा विश्वास डेन्टल र झा प्याथोलोजी (जलेश्वर), लव मेडिकल हलको एक्सरे सेवा, सिटी केयर हस्पिटल, पञ्चधुरा डेन्टल क्लिनिक (बर्दिबास) लगायतका संस्था परेका छन्। तीमध्ये केही स्थानमा लाइसेन्सविहीन व्यक्तिले सेवा दिइरहेको, सरकारी अस्पतालका लागि मात्रै सीमित परीक्षण किट निजी प्रयोगशालामा फेला परेको र आवश्यक केमिकल नहुँदा पनि हातैले रिपोर्ट दिने अवस्था देखिएको हो। परिषदले अनुगमनको सुरुआत मधेश प्रदेशबाट गरेको बताउँदै यस्ता गम्भीर लापरवाही भएको संस्थामाथि देशैभरि अनुगमन गरिने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments