जनकपुरधाममा ४० किशोरीलाई डिजिटल–वित्तीय साक्षरता र उद्यमशीलता तालिम
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ २१ गते । जनकपुरधाममा बुधबार ‘बालविवाह निषेध तथा बालिका शिक्षा प्रवर्धन परियोजना’ अन्तर्गत ४० जना किशोरीलाई डिजिटल–वित्तीय साक्षरता तथा उद्यमशीलताको तालिम प्रदान गरिएको छ। स्थानीय तह, मधेश प्रदेश सरकार र लाइफ नेपालको समन्वयमा आयोजित उक्त तालिममा कक्षा ८ देखि १० सम्म अध्ययनरत किशोरीहरूलाई प्रविधिको प्रयोग र सुरक्षित वित्तीय कारोबारबारे जानकारी दिइएको हो। तालिम गल्र्स फस्ट फन्डको सहयोगमा, लाइफ नेपाल र ग्लोबल आइएमई बैंकको सहकार्यमा सञ्चालन गरिएको थियो। परियोजना प्रमुख डली शर्माका अनुसार अहिलेको डिजिटल युगमा किशोरीहरूलाई समय सापेक्ष सीप प्रदान गर्नु आवश्यक भएकाले तालिम आयोजना गरिएको हो।
ग्लोबल आइएमई बैंक जनकपुरधाम शाखाका प्रमुख रिसी लोहनीले किशोरीहरूलाई मोबाइल बैंकिङ, क्यूआर कोड, आइपिएस प्रणालीजस्ता डिजिटल उपकरणको प्रयोग सिकाउँदै यसले समय बचत र सुरक्षामा सहयोग पुर्याउने बताए। प्रशिक्षक पुजा धामीले सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा र अनलाइन भुक्तानीको सुरक्षित तरिका सिकाइन्। लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले किशोरीहरूमा साइबर क्राइमको जोखिम कम गर्न प्राविधिक ज्ञान अनिवार्य भएको उल्लेख गर्दै तालिमले उनीहरूलाई आत्मनिर्भर र सशक्त बनाउने विश्वास व्यक्त गरे। तालिममा सहभागी किशोरीहरूले आफूले सिकेका ज्ञान अन्य साथीहरूसँग बाँड्ने प्रतिबद्धता जनाएका छन्।
कमेन्ट गर्नुहोस्
view comments