रौतहटको चन्द्रपुरमा हायस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ २१ गते । रौतहटको चन्द्रपुर नगरपालिका–१ मङ्गलपुरमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ज. ०४५२ नम्बरको हायस र विपरीत दिशाबाट आइरहेको म. प्र. ०३–००१ ख. ८६०० नम्बरको ट्रक आपसमा ठोक्किँदा रामनगर गाउँपालिका–१ खैरवा निवासी ३६ वर्षीया भगियादेवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको चन्द्रपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।

दुर्घटनामा घाइते भएकामध्ये मृतक भगियादेवीकी १८ वर्षीया छोरी रिनाकुमारी यादव र रौतहट दुर्गाभगवती गाउँपालिका–५ का १९ वर्षीय सरोज ठाकुरको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रक चालक ग्यालसेन ठोक्कर र हायस चालक आकाश सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?