सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु, जीर्ण संरचनाले बढायो दुर्घटना जोखिम

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ २० गते । सर्लाहीको बरहथवा नगरपालिका–१७, कटानीमा मङ्गलबार बिहान करिब पौने ३ बजे नहरको पुलबाट मोटरसाइकल खस्दा ३५ वर्षीय चालक घनश्याम रायको ज्यान गएको छ। मलङ्गवा नगरपालिका–४ निवासी राय सवार ना. ४६ प २८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको घुमाउरो स्थानमा ठोक्किएर करिब तीन मिटर तल खसेको थियो। टाउको, निधार र आँखामा गम्भीर चोट लागेका रायलाई भेनस अस्पताल हुँदै एल.एस. न्यूरो अस्पताल, बारामा पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

स्थानीयवासीका अनुसार दुर्घटना घटेको बागमती सिँचाइ आयोजनाअन्तर्गतको पुल जीर्ण र जोखिमपूर्ण अवस्थामा रहेको छ। पुल नजिकैको कालोपत्रे सडक अग्लो भएकाले सवारी चालकलाई पुलको उपस्थिति थाहा नहुने र रेलिङसमेत नरहेकाले दुर्घटनाको सम्भावना बढेको उनीहरूको भनाइ छ। वडाध्यक्ष रामविश्वास रायले पटक–पटक मर्मत वा नयाँ निर्माणको माग गर्दा पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको गुनासो गरेका छन्। इलाका प्रहरी कार्यालय बरहथवाले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?