अनुमति बिना हज गर्न खोज्ने २ लाख ६९ हजारभन्दा बढीलाई मक्का प्रवेशमा रोक

2 महीना पहिले प्रकाशित

एजेन्सी, जेठ १९ गते ।  साउदी सरकारले अनुमति बिना हज गर्न प्रयास गर्ने २ लाख ६९ हजार ६७८ जनालाई मक्का प्रवेशमा रोक लगाएको छ। हज यात्रालाई सुरक्षित, व्यवस्थित र नियन्त्रणमा राख्न यस्तो कडा कदम चालिएको हो। गत वर्ष चर्को गर्मीका कारण धेरै तीर्थयात्रीले ज्यान गुमाएका थिए, जसमा अनुमति विना सहभागी भएकाहरूको संख्याले जोखिम अझ बढाएको थियो। यसै कारण अनधिकृत यात्रुहरूलाई नियन्त्रण गर्नु हज सुरक्षाको प्राथमिकता बनाइएको साउदी सरकारको भनाइ छ।

सरकारले बिना अनुमति हज गर्नुलाई आपराधिक कार्य मानेर ५ हजार डलरसम्मको जरिवाना लगायत कडा सजायको प्रावधानसमेत लागू गरेको छ। हालसम्म २३ हजारभन्दा बढी व्यक्तिलाई जरिवाना गरिएको छ भने ४०० हज कम्पनीहरूको इजाजतपत्र खारेज गरिएको छ। यस वर्ष पहिलोपटक सुरक्षा सुदृढीकरणका लागि ड्रोनको प्रयोग गरिएको छ। साउदी नागरिक सुरक्षा प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अल–ओमारीले सबै तीर्थयात्री निगरानीमा रहेको र नियम उल्लंघन गर्नेलाई कारबाही गरिने स्पष्ट पारेका छन्। हालसम्म १४ लाखभन्दा बढी अधिकृत तीर्थयात्री मक्का पुगिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?