अनिवार्य सैन्य तालिमदेखि धार्मिक करिडोरसम्म : बीपी साहको मधेश सरकारलाई ११ बुँदे सुझाव
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १६ गते । जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले मधेश प्रदेश सरकारलाई युवालाई अनुशासित, सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यसहित अनिवार्य सैन्य तालिमदेखि रोजगार, पर्यटन र सामाजिक सुरक्षा समेटिएको ११ बुँदे सुझावपत्र बुझाएका छन्। साहले १६ जेठमा मुख्यमन्त्री सतिश कुमार सिंहलाई बुझाएको सुझावपत्रमा एसईई दिएका युवालाई ६ महिनासम्म सैन्य तालिम दिनुका साथै हरेक परिवारका कम्तिमा एक जनालाई रोजगारी दिने व्यवस्था गर्नुपर्ने उल्लेख छ। साथै, मोटरसाइकल नवीकरण शुल्कमा छुट, गंगालाल हृदयरोग अस्पतालको शाखा मधेशमा स्थापना गरी निःशुल्क उपचारको व्यवस्था, र महिलाका लागि यातायातमा निःशुल्क सुविधा दिने माग पनि राखिएको छ।
साहको सुझावमा मधेशको इतिहास, संघीयता र लोकतान्त्रिक आन्दोलनबारे पाठ्यक्रम र प्रशिक्षण सञ्चालन, सल्हेस पर्यटन करिडोर निर्माण, जानकी नवमीमा मिथिला सांस्कृतिक रथ यात्रा आयोजना, तथा महादेव धार्मिक करिडोरमार्फत धार्मिक पर्यटन प्रवर्द्धन गर्ने प्रस्तावहरू छन्। सीमावर्ती क्षेत्रका नागरिकका लागि विशेष कार्यक्रम ल्याई स्वास्थ्य, शिक्षा र पूर्वाधारमा पहुँच विस्तार गर्नुपर्ने उनले बताएका छन्। यी सुझावहरू बजेट तथा नीतिमा समेटिन सके मधेशी जनताको संघीयताप्रतिको भरोसा अझ मजबुत हुने साहको विश्वास छ।
कमेन्ट गर्नुहोस्
view comments