भारतको कडा जवाफ : "आतंकवाद र वार्ता सँगसँगै हुन सक्दैन"
2 महीना पहिले प्रकाशित

एजेन्सी, जेठ १६ गते । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले भारतसँग वार्ता गर्न इच्छाशक्ति व्यक्त गरेपछि भारतको विदेश मन्त्रालयले बिहीबार कडा प्रतिक्रिया दिएको छ। प्रवक्ता रणधीर जयसवालले आतंकवाद र वार्ता सँगसँगै अघि बढ्न नसक्ने स्पष्ट गर्दै पाकिस्तानसँग वार्ता केवल आतंकवादीहरूको सूची हस्तान्तरण र अवैध रूपमा कब्जा गरिएको पाक अधीकृत कश्मीर (पीओके) खाली गर्ने सवालमा मात्र सिमित हुने बताए। भारतको यस्तो प्रतिक्रिया शरीफले शान्ति र संवादको चाहना व्यक्त गरेपछि आएको हो।
अजरबैजानको लाचिन शहरमा त्रिपक्षीय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शरीफले पाकिस्तानले विगतदेखि नै शान्तिलाई प्राथमिकता दिएको बताएका थिए। उनले भारतले पाकिस्तानमाथि प्रमाणबिनै आरोप लगाएको र पहलगाम हमलासम्बन्धी कुनै प्रमाण नदिएको पनि दाबी गरे। साथै, उक्त घटनाको अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार रहेको जनाउँदै भारतले त्यसलाई अस्वीकार गरेको आरोप समेत उनले लगाए। तर भारतले वार्ता अघि आतंकवाद विरुद्ध ठोस कार्यवाहीको माग गर्दै, कुनै पनि संवादको ढोका तत्कालका लागि बन्द रहेको संकेत दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments