महोत्तरी वन कार्यालयमा लेखा अधिकृतमाथि हातपात, ठेकेदार र कार्यालय प्रमुखविरुद्ध गम्भीर आरोप

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १६ गते । डिभिजन वन कार्यालय महोत्तरीका लेखा अधिकृत रामसुलित महत्तोमाथि कार्यालयभित्रै हातपात र ज्यान मार्ने धम्की दिइएको भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका छन्। महत्तोका अनुसार, हरित पार्क निर्माणको ठेक्का पाएका निर्माण व्यवसायी दिनेश चौधरीले कार्यकक्षमै आएर भुक्तानीका लागि दबाब दिँदै गालीगलौज, हातपात तथा ज्यान मार्ने धम्की दिएका थिए। उनले कार्यालय प्रमुख अजय मिश्र र इन्जिनियर राकेश पाण्डेलगायतले पनि भुक्तानीका लागि दबाब दिएको आरोप लगाएका छन्। विवाद हुँदा बचाउन आएका वनरक्षकलाई कार्यालय प्रमुखले सरुवा गरेकोसमेत महत्तोको भनाइ छ।

यता ठेकेदार चौधरीले भने आफूले केवल भुक्तानी कहिलेसम्म हुने भनेर सोधेको र कुनै अभद्र व्यवहार नगरेको दाबी गरेका छन्। हरित पार्क निर्माणका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको थियो भने एनके कन्स्ट्रक्सनले १९ लाख ९५ हजार ९ सय ३३ रुपैयाँमा ठेक्का पाएको हो। निर्माणमा सम्झौताविपरीत काम भएको र निर्माण कार्य प्रारम्भ हुनु अघि नै आर्थिक लेनदेन भएको भन्दै कार्यालयभित्र अनियमितता भएको आरोप पनि उठेको छ। प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले विषय बुझ्ने क्रम जारी रहेको र प्रमुख अजय मिश्रलाई स्पष्टीकरणका लागि बोलाइएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?