लहान नगरपालिकाले एक वर्षमै पाँच करोड इन्धनमा खर्च, अख्तियारले भ्रष्टाचार अनुसन्धान तीव्र बनायो

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १६ गते । लहान नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा इन्धन शीर्षकमा पाँच करोड रुपैयाँभन्दा बढी खर्च गरेको खुलासा भएको छ। पदाधिकारी, कार्यालय प्रयोजन, सरसफाइ, फुटकर योजना लगायत विभिन्न शीर्षकमा ५ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएकोमा, त्यसको खर्च कानुनी प्रक्रिया नअपनाई गरिएको स्रोतहरू बताउँछन्। मेयर महेश चौधरी र उपमेयर रामचलितर महतोको मौखिक आदेश तथा तोकादेशको भरमा मनपरी ढंगले इन्धन वितरण गरिएको, र दोहरो भुक्तानी समेत लिएको आरोप लागेको छ। लगबुकमा स्थानीय व्यक्ति, पत्रकारदेखि संघसंस्था र सुरक्षाकर्मीलाई समेत इन्धन वितरण गरिएको विवरण उल्लेख छ, भने सात महिनामै २ करोड ३८ लाख रुपैयाँ खर्च गरिएको तथ्यांक छ।

स्थानीय सरकार सञ्चालन ऐनविपरीत गरिएको इन्धन खर्चबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र अन्य अधिकारीहरूको समेत संलग्नता रहेको प्रारम्भिक निष्कर्ष छ, र भ्रष्टाचार मुद्दा दर्ताको तयारी भइरहेको आयोग स्रोतको भनाइ छ। मेयर चौधरीले इन्धन वितरण विगतको अभ्यास निरन्तरता मात्रै भएको दाबी गरे पनि, उपमेयर महतोले आफू असम्बद्ध रहेको जनाएका छन्। यति ठूलो परिमाणमा इन्धन खर्च गर्ने यो देशकै पहिलो नगरपालिका भएकोले यो प्रकरण अख्तियारको विशेष निगरानीमा परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?