पूर्वसांसद आफताब आलमसहित चारजनालाई उच्च अदालत वीरगञ्जबाट सफाइ, जिल्ला अदालतको जन्मकैद फैसला उल्टियो

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, जेठ १५ गते ।  रौतहटको चर्चित इँटाभट्टा काण्डमा नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमसहित चारजनालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाए पनि उच्च अदालत वीरगञ्जको इजलासले उक्त फैसला उल्ट्याउँदै सबैलाई सफाइ दिएको छ। डा. खुसीराम थारू र अर्जुन महर्जनको इजलासले पूर्वसांसद आलमविरुद्ध लगाइएको कर्तव्य ज्यान, बम विस्फोट र ज्यान मार्ने उद्योगसम्बन्धी तीनवटा अभियोगमा प्रस्तुत प्रमाणहरू पर्याप्त नभएको ठहर गर्दै सफाइको फैसला सुनाएको हो। अदालतका अनुसार घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई इँटाभट्टामा जिउँदै जलाइएको भन्ने कुरा पुष्टि गर्ने वस्तुनिष्ठ प्रमाण अभावमा फैसला उल्ट्याइएको हो।

२०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका केही व्यक्तिहरूलाई इँटाभट्टामा जिउँदै जलाएर मारिएको आरोपमा आलम, उनका भाइ महताब आलमसहित चारजनाविरुद्ध मुद्दा दायर गरिएको थियो। जिल्ला अदालत रौतहटले २०७६ सालमा आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने २०८१ वैशाख १३ गते जन्मकैदको फैसला सुनाएको थियो। तर, पुनरावेदनमा पेश भएको निवेदनको सुनुवाइपछि उच्च अदालतले दोष पुष्टि नहुने तीनवटा आधार प्रस्तुत गर्दै सबैलाई सफाइ दिएको र आलम साँझसम्म रिहा भइसकेको अदालतका रजिष्ट्रार दीपक भण्डारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?