गणतन्त्र दिवसलाई विशेष बनाउने तयारीमा मधेस सरकार, तीनदिने कार्यक्रम घोषणा
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १४ गते । मधेस सरकारले यस वर्षको गणतन्त्र दिवसलाई विशेष रूपमा मनाउने घोषणा गर्दै जेठ १४, १५ र १६ गते तीनदिने विविध कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको समन्वयमा आयोजना हुने कार्यक्रमहरू सामाजिक, सांस्कृतिक र सम्मानजनक प्रकृतिका हुने गृह मन्त्री राजकुमार लेखीले जानकारी दिए। उनका अनुसार गणतन्त्र दिवस जनताले प्राप्त गरेका अधिकारहरूको संस्थागत स्मरणका रूपमा मनाउन लागिएको हो।
कार्यक्रमको पहिलो दिन गृह मन्त्रालय परिसरमा बिहान ६ बजेदेखि सरसफाइ अभियान सञ्चालन गरियो, जसमा गृहमन्त्री लेखीसहित मन्त्रालयका उच्च अधिकारीहरू, नीति आयोग र आमसञ्चार प्राधिकरणका प्रतिनिधिहरू, साथै सुरक्षा निकायका सयौँ सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रह्यो। दोस्रो दिन अर्थात् जेठ १५ गते प्रेस स्वतन्त्रता सेनानीहरूलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ, जसमा गृहमन्त्री लेखीले स्वयं सम्मान प्रदान गर्नेछन्। अन्तिम दिन जनकपुरधामस्थित जानकी मन्दिर परिसरको सरसफाइ कार्यक्रम आयोजना गरिने गृह मन्त्रालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments