जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा वट सावित्री पर्व हर्षोल्लाषका साथ मनाइँदै
3 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १२ गते । मिथिलाञ्चलमा आज नवविवाहित मिथिलानी महिलाहरूले परम्परागत धार्मिक आस्थासहित वट सावित्री पर्व धुमधामसँग मनाइरहेका छन्। वट सावित्री पर्व विशेष गरी जेठ महिनाको कृष्ण औँसी तिथिमा मनाइन्छ, जहाँ विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायु, अटल सौभाग्य र पारिवारिक सुख-समृद्धिको कामना गर्दै उपवाससहित पूजा गर्ने गर्छन्।
यस पर्वमा महिलाहरूले नव पहिरनमा सजिएर गाउँ वा नगर नजिकको वर र पिपलको वृक्षमुनि ब्रह्मा, विष्णु र रुद्रसहितका देवताको पूजा गर्छन्। पूजा सामग्रीहरूमा पान, सुपारी, केरा, धूप, फलफूललगायतका वस्तु प्रयोग गरिन्छ भने रातो र पहेँलो धागोले वर र पिपलको रुख बेर्ने चलन छ। मिथिलानी महिलाले यो पर्व माइतीघरमै विधिपूर्वक मनाउने परम्परा पनि कायम छ।
धार्मिक शास्त्रअनुसार सती सावित्रीले आफ्ना पतिको मृत्युपछि यमराजसँग जुधेर उनको प्राण फर्काएको प्रसंगबाट प्रेरित भई यो पर्वको सुरुवात भएको मानिन्छ। यही धार्मिक विश्वासका आधारमा मिथिलाञ्चलका महिलाहरूले श्रद्धा र आस्थासाथ निराहार व्रत बस्दै दिनभर पूजा-आराधना गर्छन्।
यस पर्वमा पहिले मैथिल ब्राह्मण, कायस्थ र सोनार समुदायकी महिलाले मात्रै भाग लिँदै आए पनि हाल यो पर्व मिथिलाञ्चलका सबै जाति र समुदायका महिलाबीच लोकप्रिय बनेको छ। व्रतालु महिलाहरूले धानको लाभा भुटी बेसारबाट गौरीको आकृति बनाई पूजा गरेपछि भोलिपल्ट ब्राह्मणलाई भोजन र दक्षिणा दिई पर्व समापन गर्ने परम्परा रहेको छ।
कमेन्ट गर्नुहोस्
view comments