मधेसमा नौ महिनामा १३ अर्बभन्दा बढी बीमा शुल्क संकलन, जनचेतनाको अभावमा आकर्षण अझै कम

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ११ गते । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमाबाट २ अर्ब १५ करोड ७६ लाख र जीवन बीमाबाट ११ अर्ब १६ करोड ७९ लाख गरी कूल १३ अर्बभन्दा बढी बीमा शुल्क संकलन गरेको छ। सो अवधिमा निर्जीवन बीमा लेख संख्या २ लाख ५९ हजार ४७५ रहेको छ भने जीवन बीमातर्फ ८६ हजार ६७० बीमा लेख जारी भएका छन्। निर्जीवन बीमातर्फ ७,१२४ दाबी दर्ता भएकामा ५,५८५ जनालाई १ अर्ब ८ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरिएको छ। जीवन बीमातर्फ भने १७,२६८ दाबीबाट २ अर्ब ५४ करोड ६० लाख रकम भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ।

मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवका अनुसार बीमाप्रति सर्वसाधारणको अपेक्षित रुचि नदेखिनुको मुख्य कारण जनचेतनाको कमी हो। ‘हामीले बीमा सम्बन्धी साक्षरता अभियान सञ्चालन गरिरहेका छौँ,’ उनले भनिन्, ‘आगामी दिनमा बीमाको पहुँच विस्तार हुनेमा हामी आशावादी छौँ।’ प्राधिकरणका अनुसार मधेस प्रदेशको जीवन बीमा शुल्क संकलनमा राष्ट्रिय स्तरमा ९.२४ प्रतिशत हिस्सा छ। गत आर्थिक वर्षभरिमा जीवन बीमातर्फ २१,९०४ दाबी भुक्तानीबाट २ अर्ब ८७ करोड ७४ लाख रुपैयाँ भुक्तानी गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?