सप्तरीमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, एक घाइते
7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ११ गते । सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरमा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा विष्णुपुर गाउँपालिका–१ का १९ वर्षीय सन्तोष यादव र गाउँपालिका–२ का २२ वर्षीय सागर मण्डलको मृत्यु भएको हो। सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार इँटा बोकेको ट्र्याक्टर (स १त ५४४२) राजविराजतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको मोटरसाइकल (म.प्र. ०२–०१९ प ९६२६) सँग ठोक्किएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनामध्ये एकको बाटोमै र अर्काको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा घाइते भएका १८ वर्षीय धनञ्जय यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको छ। घटनापछि ट्र्याक्टर चालक फरार रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments