जनकपुरधाममा रेडियो नेपाल र नेपाल टेलिभिजनको मधेश ब्युरो सञ्चालन गर्न सम्झौता
14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ९ गते । जनकपुरधाममा सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपाल र मधेश प्रदेश सरकारबीच रेडियो नेपाल तथा नेपाल टेलिभिजनको मधेश ब्युरो सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ। मधेश भवनस्थित कभर्ड हलसँगैको चार कोठामा स्टुडियोसहितको संरचना निर्माण गरी त्यहींबाट उत्पादन गरिने सामग्रीहरू रेडियो नेपाल बर्दीबास र नेपाल टेलिभिजन इटहरी केन्द्रमार्फत प्रसारण गरिनेछ। सम्झौतापत्रमा मुख्यमन्त्री सतीशकुमार सिंह, सञ्चारमन्त्री राजकुमार लेखी, र पीएसबी नेपालका अध्यक्ष डा. महेन्द्र विष्टको उपस्थितिमा हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार अब मधेश प्रदेश सरकारका गतिविधिबारे समाचार, कार्यक्रम र अन्य सामग्री यही ब्युरोबाट उत्पादन भई क्षेत्रीय मात्र नभई केन्द्रीय स्तरमा समेत प्रसारण गरिनेछ। कार्यक्रममा मुख्यमन्त्री सिंहले सरकार र जनताबीच सेतुको रूपमा पीएसबीको भूमिका उल्लेख गर्दै यसलाई गर्वको विषय भनेका थिए। सञ्चारमन्त्री लेखीले रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता ऐतिहासिक संस्थाको मधेशमा उपस्थिति सानो प्रयासमा सम्भव भएको भन्दै यसले जनताका आवाज सार्वजनिक सेवामार्फत मुखरित हुने विश्वास व्यक्त गरे। अध्यक्ष डा. विष्टले मधेशमा पीएसबीको भौतिक उपस्थितिले सूचनाको पहुँच अझ सुदृढ बनाउने धारणा राखे।
कमेन्ट गर्नुहोस्
view comments