गौशाला नगरपालिकाले अवैध नदीजन्य पदार्थ उत्खननमा रोक लगायो
6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ८ गते । महोत्तरीको गौशाला नगरपालिकाले अनधिकृत रुपमा नदीजन्य पदार्थ जस्तै ढुङ्गा, गिट्टी, बालुवा र भरौट माटो उत्खनन, संकलन तथा ढुवानी कार्यमा तत्काल रोक लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै, क्षेत्रभित्र पर्ने खोलाहरुबाट नदीजन्य पदार्थ निकाल्ने कुनै पनि गतिविधि अर्को आदेश नभएसम्म बन्द रहने जनाएको छ। यदि कुनै व्यक्ति वा सवारी साधनले टिपर, ट्रयाक्टर, डोजर खोलामा प्रवेश गरी उत्खनन गरेमा ती सवारी साधन जफत गरिने र जरिवाना गरिने चेतावनी पनि दिइएको छ। साथै, गैरकानुनी उत्खनन गर्ने क्रसर उद्योगको व्यवसाय दर्ता समेत खारेज गरिने बताइएको छ।
गौशालाको मरहा नदीमा अवैध उत्खनन बढेपछि प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले यस्तो कदम उठाएका हुन्। जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि स्थानीय तहलाई नदीजन्य पदार्थको उत्खननमा कडाइ गर्न निर्देशन दिएको छ। तर, अनुगमनका क्रममा प्रहरीले अवैध उत्खनन गर्ने क्रसर उद्योगलाई संरक्षण गरेको पाइएपछि विवाद बढेको छ। नियन्त्रणमा लिइएको एक्साभेटरलाई समेत प्रहरीले कारबाहीका लागि नगरपालिकामा पठाउन ढिलाइ गरेको र उक्त एक्साभेटर अझै अवैध उत्खननमा प्रयोग भइरहेको छ। मरहा नदीमा १० फिटसम्म गहिराईमा अवैध उत्खनन भईरहेको छ भने वन क्षेत्रमै क्रसर उद्योगले उत्खनन गरिरहेको पाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments