एकै वर्षमा सिरहाका स्थानीय तहमा करोडौं रुपैयाँको बेरुजु फेला

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ८ गते । सिरहा जिल्लाका १७ वटै स्थानीय तहमा आर्थिक वर्ष २०८०/८१ मा ७८ करोड ४ लाख ४९ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षकको २०८२ को वार्षिक प्रतिवेदनअनुसार, सिरहाका ८ नगरपालिका र ९ गाउँपालिकाको २१ अर्ब ९५ करोड ८६ लाख ४६ हजार रुपैयाँको लेखा परीक्षण गर्दा यस्तो ठूलो मात्रामा बेरुजु देखिएको हो। सबैभन्दा बढी बेरुजु सिरहा नगरपालिकामा १३ करोड २२ लाख ६३ हजार रुपैयाँ छ भने विष्णुपुर गाउँपालिकामा १२ करोड १२ लाख ६८ हजार, कर्जन्हा नगरपालिकामा ९ करोड ३९ लाख ३३ हजार रुपैयाँ बेरुजु देखिएको छ।

अन्य स्थानीय तहहरूमा पनि उल्लेख्य बेरुजु कायम भएको छ। नरहा गाउँपालिकामा ७ करोड ९४ लाख ९२ हजार, सुखीपुर नगरपालिकामा ५ करोड ७५ लाख १७ हजार, सखुवानन्कारकट्टी गाउँपालिकामा ४ करोड ६४ लाख ७९ हजार, औरही गाउँपालिकामा ४ करोड २५ लाख ७४ हजार रुपैयाँ बेरुजु देखिएको छ। जिल्लामा सबैभन्दा कम बेरुजु कल्याणपुर नगरपालिकामा ९९ लाख ३० हजार रुपैयाँ रहेको छ। महालेखा प्रतिवेदनले खर्च नगर्ने र लेखा परीक्षणमा अनियमितता देखाउने प्रवृत्तिका कारण बेरुजु रकम बढ्दै गएको उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?