बटेश्वर गाउँपालिकामा अख्तियारको छापा: सेटिङमा दिइएका योजनाका फाइल नियन्त्रणमा
5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ७ गते । धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले मंगलबार छापा मारी आर्थिक अनियमितता सम्बन्धी योजनाका फाइलहरू नियन्त्रणमा लिएको छ। लामो समयदेखि माग गर्दा पनि गाउँपालिकाले नदिएको कारण आयोगको टोली आफैं कार्यालयमा पुगेर दराज खोलेर कागजात कब्जामा लिएको हो। फाइल रहेको दराजको साँचो निलम्बित लेखा अधिकृत सुमन पुरीसँग रहेको भन्दै कर्मचारीहरूले आनाकानी गरेपछि आयोगले ताल्चा फोड्ने चेतावनी दिएको थियो।
आयोगले नियन्त्रणमा लिएका योजनाहरूमा लक्ष्मी माध्यमिक विद्यालयको चार कोठे भवन, निर्माणाधीन महादेव मन्दिर, विभिन्न विद्यालय भवन र ढलान सडकहरूजस्ता योजना रहेका छन्, जसलाई आर्थिक वर्ष २०७८/७९ मा पूर्व अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामजी जोसी र लेखा अधिकृत सुमन पुरीको मिलेमतोमा आर्यन कन्ट्रक्सनलाई टेण्डरमार्फत दिएको आरोप छ। कतिपय योजना अधुरो अवस्थामा रहेका छन् भने टेण्डरमा एक प्रतिशतसम्म पनि बिलो नआएको, इन्जिनियरको औपचारिक सहभागिता नराखी करारमा व्यक्ति राखेर बर्दिबासमै बसेर कागजात तयार पारिएको खुलासा भएको छ।
कमेन्ट गर्नुहोस्
view comments