वीरगन्जको भकुवा नाकाबाट ८१ हजार बढी ट्रामाडोल ट्याब्लेट बरामद

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ६ गते । वीरगन्जको छपकैयास्थित भकुवा नाकाबाट सशस्त्र प्रहरीले मंगलबार बिहान ठूलो मात्रामा लागुऔषध ट्रामाडोल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्साबाट प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको नेतृत्वमा खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ८१ हजार ४९० वटा ट्रामाडोल (५० एमजी) ट्याब्लेट बरामद गरेको हो।

दुई जना व्यक्ति टाउकोमा बोकी नेपालतर्फ लागुऔषध ल्याउँदै गर्दा प्रहरी देखेपछि छाडेर भागेका थिए। सशस्त्र प्रहरीले उक्त लागुऔषध नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाएको जानकारी डीएसपी सिंहले दिएका छन्। भागेका व्यक्तिहरूको पहिचान र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?