बाँसबाट बनेको पक्की घर पाएपछि सप्तकोशीका भूमिहीन मुसहर परिवारको जीवनशैलीमा परिवर्तन
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ ५ गते । सप्तकोशी नगरपालिका–४ की ममतादेवी सदासहितका १८ भूमिहीन मुसहर परिवारले अब पक्की, सुरक्षित र सुविधासम्पन्न घरमा नयाँ जीवन सुरू गरेका छन्। विगतमा अर्काको जग्गामा फुसको घरमा बस्दै आएका यी परिवारहरूलाई हावाहुरी र जग्गावालाको दबाबले सताइरहन्थ्यो। तर अब नगरपालिकाले बाँसबाट नवीन प्रविधिको प्रयोग गरी बनाएका दुई कोठा, स्नानगृह, शौचालय र भान्साघरसहितको घर हस्तान्तरण गरेपछि उनीहरूको बसोबास सहज बनेको छ। घर पाएपछि ममता सदा, गनु सदा, परमिला सदा जस्ता मजदुर परिवारले सुरक्षित घरको चिन्ता हटाएर आफ्नो श्रम पेशामा केन्द्रित हुन पाएका छन्।
सप्तकोशी नगरपालिका, महुली सामुदायिक विकास केन्द्र र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको साझेदारीमा प्रत्येक घरको लागत ६ लाख १९ हजार रुपियाँ परेको छ, जसमा नगरपालिका र संस्थाको अनुदानसहित घरधनीको श्रमदानसमेत रहेको छ। बाँसलाई औद्योगिक विधिबाट प्रशोधन गरी बालुवा र सिमेन्टको प्लास्टर गरिएको यस्ता घर ३५ वर्षभन्दा बढी टिकाउ हुने बताइएको छ। नगरप्रमुख कृष्णप्रसाद ढकालका अनुसार, सुरक्षित आवासले मुसहर समुदायको जीवनमा सकारात्मक रूपान्तरण ल्याएको छ, र आगामी वर्ष थप ४० घर निर्माण गरी हस्तान्तरण गर्ने योजना पनि अघि बढाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments