अस्पताल सञ्चालनमा लापरबाही गरेको भन्दै कांग्रेस उपनेता सिंहको मधेश प्रदेश सरकारलाई ज्ञापनपत्र
11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २ गते । मधेश प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयले १७ महिनाअघि निर्णय भएका ५० र १०० शैय्याका अस्पताल सञ्चालनमा लापरबाही र गैरजिम्मेवारी देखाएको आरोप लगाउँदै नेपाली कांग्रेस संसदीय दलका उपनेता तथा पूर्व स्वास्थ्य मन्त्री माननीय वीरेन्द्र प्रसाद सिंहले प्रदेश सरकारका मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन्।
सिंहले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमअनुसार मन्त्रिपरिषद्ले ६ वटा १०० शैय्या र ५ वटा नयाँ ५० शैय्याका अस्पताल सञ्चालन गर्ने निर्णय गरेको र सोहीअनुसार दरबन्दी स्वीकृत भई कर्मचारी छनोटको प्रक्रिया अघि बढाइएको स्मरण गराउँदै सर्लाही, धनकौलस्थित श्री वैजनाथ आमा तथा बाल अस्पतालमा राजनीतिक पूर्वाग्रहका कारण दरबन्दीअनुसारका कर्मचारी नपठाइ गैरकानुनी रूपमा मन्त्रालयमै राखिएको उल्लेख गरेका छन्।
उनले जनताको स्वास्थ्य सेवा प्रत्यक्ष सरोकारको विषय भएकाले यसमा देखिएको ढिलाइ र बेवास्तालाई गम्भीर लापरबाही भन्दै तत्काल छनोट भएका कर्मचारीलाई पदस्थापन गरी अस्पताल सञ्चालनको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्।
ज्ञापनपत्रमा स्वीकृत दरबन्दी विवरण र अस्पताल सञ्चालनका लागि विनियोजित बजेटको प्रतिलिपिसमेत संलग्न गरिएको छ। सिंहले बजेट फ्रिज हुन थालेको अवस्थामा पनि मन्त्रालयले कुनै पहल नगरेको भन्दै आलोचना गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments