डाकनेश्वरी नगरपालिकाको प्रशासन अस्तव्यस्त, भ्रष्टाचार मुद्दापछि सात कर्मचारी निलम्बन
17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २ गते । सप्तरीको डाकनेश्वरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी निलम्बनमा परेपछि पालिका संचालनमा गम्भीर समस्या उत्पन्न भएको छ। आर्थिक वर्ष २०७८/०७९ मा एलइडी स्ट्रिट लाइट जडानमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादव, दुई इन्जिनियर, लेखा अधिकृत, योजना अधिकृत, एक सहायकसहित सात कर्मचारी र एक निर्माण फर्मका सञ्चालकविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। आरोपपत्र दायर भएसँगै गत बुधवारदेखि सबै कर्मचारी स्वतः निलम्बनमा परेका छन्।
मुख्य प्रशासकीय, प्राविधिक र योजना तथा लेखा शाखाका कर्मचारीहरू एकैपटक निलम्बनमा परेपछि आर्थिक कारोबारदेखि दैनिक प्रशासनिक कार्य ठप्प भएको नगरप्रमुख राम लखन मल्लाहले बताएका छन्। अख्तियारका अनुसार कमसल सामग्री खरिद गरी फर्जी बिलमार्फत सम्पूर्ण बजेट हिनामिना गरिएको थियो। हाल प्रशासनिक अधिकृत रमेश साहलाई निमित्त प्रमुख बनाइएको छ, तर उनलाई सीमित अधिकार मात्र दिइएको छ। नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रिक्त पदपूर्तिका लागि आग्रह गरिसकेको छ।
कमेन्ट गर्नुहोस्
view comments