मधेश प्रदेशमा समृद्धिका संकेत : पूर्वाधार निर्माण र सुशासनमा सरकारले देखायो सक्रियता
13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख ३० गते । मधेश प्रदेश सरकारले सात वर्षको अवधिमा समृद्धि र विकासको दिशा तय गर्न उल्लेखनीय प्रयासहरू गरेको मुख्यमन्त्री सतीशकुमार सिंहले बताएका छन्। गोरखापत्रसँगको विशेष कुराकानीमा उनले संघीयताको प्रारम्भिक चरणमै रहे पनि सडक, विद्यालय, अस्पताल जस्ता भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएको बताएका छन्। हालै प्रस्तुत बजेटमार्फत प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटर कालोपत्रे सडक निर्माण, एउटा पुल तथा नमुना विद्यालय निर्माणजस्ता योजना अघि बढाइएको जानकारी दिँदै उनले सुशासन र सार्वजनिक सेवा सुधारका लागि कठोर कदम चालिएको उल्लेख गरे।
मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा अनियमितता अन्त्य गर्न गैरमापदण्डका अस्पतालहरू बन्द गरिएको र जनशक्तिको अभाव, संघीय कानुन नबन्नु तथा केन्द्रको प्रभावजस्ता संरचनात्मक चुनौतीबीच पनि प्रदेश सरकारले उपलब्धिमूलक काम अघि बढाइरहेको बताए। जलवायु परिवर्तन, महिला सशक्तीकरण र युवाको विदेश पलायन नियन्त्रण गर्न शिक्षा, रोजगार र वातावरण संरक्षणलाई आगामी नीति तथा कार्यक्रममा प्राथमिकता दिइने जानकारी दिँदै उनले समन्वय र सहकार्यबाट मात्रै समृद्ध प्रदेशको लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे।
कमेन्ट गर्नुहोस्
view comments