सिराहामा सिमेन्ट उद्योगका टिपरको ठक्करबाट वृद्धको मृत्यु, स्थानीय आक्रोशित

4 महीना पहिले प्रकाशित

जनकपुरधाम, वैशाख ३० गते । सिराहाको मिर्चैया नगरपालिका–७ स्थित बाख्रा बजारमा मंगलबार बिहान तीव्र गतिमा आएको टिपरको ठक्करबाट ६५ वर्षीय महेन्द्र महराको घटनास्थलमै मृत्यु भएको छ। मन्दिरमा पूजा गरेर फर्किरहेका बेला सिमेन्ट उद्योगका लागि चुनढुंगा बोकेको बा प्र–०१–००४ क २९५३ नम्बरको टिपरले उनलाई ठक्कर दिएको थियो। अत्यधिक तीव्र गतिका कारण टिपर पल्टिएको भए पनि चालक फरार छन्, र प्रहरीले उनको खोजी तथा घटनाको अनुसन्धान गरिरहेको छ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन्। वडाध्यक्ष रामदयाल ठाकुरले सिमेन्ट उद्योगी र टिपर व्यवसायीले सर्वसाधारणको ज्यानलाई उपेक्षा गर्दै सरकारी निकायसँग मिलेमतोमा जनधनको क्षति गराइरहेको आरोप लगाएका छन्। उनका अनुसार वैकल्पिक बाटो बनाउने सहमति पटकपटक भए पनि कार्यान्वयन नभएको र टिपरको ओभरलोड र तीव्र गति नै वर्षौंदेखि दुर्घटनाको प्रमुख कारण बनिरहेको छ। स्थानीयवासीले दुर्घटनाको अन्त्यका लागि तत्काल स्थायी समाधानको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?