पाकिस्तानको आक्रमणमा तीन भारतीय सुरक्षाकर्मीको मृत्यु, सात घाइते

3 दिन पहिले प्रकाशित

एजेन्सी, वैशाख २८ गते । शनिबार बिहान पाकिस्तानबाट भएको गोलीबारी र ड्रोन आक्रमणमा दुई भारतीय सैनिक र एक प्रहरीको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार आरएस पुरा सेक्टरमा भएको भीषण गोलाबारीमा बीएसएफका सब–इन्स्पेक्टर मोहम्मद इम्तियाजको मृत्यु भएको छ भने अन्य सात जना बीएसएफ जवान घाइते भएका छन्। यो घटना भारत–पाकिस्तान युद्धविराम सम्झौताअघि भएको बताइएको छ।

पुंछको कृष्णा घाटी सेक्टरमा तोपको विस्फोटमा हिमाचल प्रदेशका सुबेदार मेजर पवन कुमार सहिद भएका छन् भने जम्मु–कश्मीर लाइट इन्फन्ट्रीका २५ वर्षीय राइफलम्यान सुनील कुमार घाइते भइ उपचारका क्रममा मृत्यु भएका छन्। उधमपुरमा तैनाथ भारतीय वायुसेनाका ३६ वर्षीय मेडिकल असिस्टेन्ट सार्जेन्ट सुरिन्दर कुमार मोगाको पनि ज्यान गएको छ। उनी केही दिनअघि मात्र बेंगलुरुबाट उधमपुर सरुवा भएका थिए। मुख्यमन्त्री उमर अब्दुल्लाहले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?