भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण दिल्ली विमानस्थलबाट १३८ उडान रद्द, सुरक्षा सतर्कता कडा
1 दिन पहिले प्रकाशित

एजेन्सी, वैशाख २६ गते । भारत र पाकिस्तानबीच बढ्दो तनावको असर हवाइ यातायातमा समेत देखिएको छ। प्राप्त सूचनाका अनुसार, शुक्रबार दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलबाट छुट्ने र आउने गरी कुल १३८ उडान रद्द गरिएका छन्। तीमध्ये ६६ वटा आन्तरिक उडान प्रस्थान गर्ने, ६३ वटा आन्तरिक उडान आगमन गर्ने, पाँच अन्तर्राष्ट्रिय प्रस्थान र चार अन्तर्राष्ट्रिय आगमन उडान रहेका छन्।
दिल्ली विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ। देशका विभिन्न २७ विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको स्रोतले जनाएका छन्। ‘अपरेसन सिन्दूर’ नाम दिइएको उक्त सुरक्षा कदम अन्तर्गत बिहान ५ बजेदेखि दिउँसो २ बजेसम्म उडानहरूमा उल्लेखनीय प्रभाव परेको हो।
दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेड (DIAL) ले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “दिल्ली विमानस्थलको सामान्य सञ्चालन यथावत् रहेको छ। यद्यपि, सुरक्षा उपाय र हवाई क्षेत्रको अवस्थाका कारण केही उडानहरू प्रभावित हुन सक्छन्।” यात्रुहरूलाई अतिरिक्त समय लिएर सुरक्षा जाँचमा सहभागी हुन र एयरलाइन तथा सुरक्षाकर्मीहरूसँग सहकार्य गर्न समेत अनुरोध गरिएको छ।
यस अवस्थाले यात्रुहरूमा अन्योल र असहजता उत्पन्न गराएको छ भने सुरक्षालाई लिएर चासो बढ्दो छ।
कमेन्ट गर्नुहोस्
view comments