भारतको हवाई आक्रमणपछि पाकिस्तानले प्रतिकारको अनुमति दियो, दुवै तर्फको हताहती बढ्दै
16 घन्टा पहिले प्रकाशित

एजेन्सी, वैशाख २४ गते । भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा हवाई आक्रमण गरेपछि पाकिस्तान सरकारले सशस्त्र बललाई प्रतिकार गर्न आधिकारिक अनुमति दिएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफको कार्यालयले सेनालाई ‘प्रतिकारात्मक कारबाही’ गर्न अधिकार दिएको द गार्जियन र रोयटर्सले जनाएका छन्।
भारतले ‘आतङ्ककारी संरचना’ रहेको बताउँदै पाकिस्तानका नौ स्थानमा आक्रमण गरेको दाबी गरेको छ। भारतीय सैन्य प्रवक्ताका अनुसार यो कारबाही जैश–ए–मोहम्मद र लश्कर–ए–तोइबाजस्ता समूहहरूविरुद्ध लक्षित थियो। भारतले यो कारबाही कश्मीरको पहलगाममा २६ हिन्दु पर्यटकको हत्यापछि गरेको हो।पाकिस्तानले भारतको आक्रमणमा कम्तीमा २६ नागरिकको मृत्यु र ४६ जना घाइते भएको दाबी गरेको छ। प्रतिकारस्वरूप पाकिस्तानले पाँच भारतीय लडाकु विमान खसालेको दाबी गरेपनि भारतीय रक्षा मन्त्रालयले यसको पुष्टि गरेको छैन। पाकिस्तानको जवाफी कारबाहीमा कम्तीमा सात नागरिकको मृत्यु भएको र ३० जना घाइते भएको बताइएको छ।
परमाणु शक्तिसम्पन्न दुबै देशबीच यो घटनालाई पछिल्लो दशकको सबैभन्दा ठूलो सैन्य टकरावका रूपमा हेरिएको छ। सीमावर्ती क्षेत्रमा तनाव चुलिँदै गएपछि अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन दुबै पक्षलाई आह्वान गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments