भारतले सुरु गर्‍यो ‘अपरेसन सिन्दूर’, पाकिस्तानमा नौ स्थानमा हवाई आक्रमण

19 घन्टा पहिले प्रकाशित

नयाँ दिल्ली, वैशाख २४ गते ।  जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव चुलिएको छ। त्यसको दुई हप्तापछि भारतीय सेनाले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरका विभिन्न भागमा हवाई आक्रमण गरेको छ। भारतीय सेनाले यी कारबाहीलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको छ।

भारतले पाकिस्तानका नौ स्थानमा आक्रमण गरेको दाबी गरेको छ। पाकिस्तानका विदेशमन्त्री इशाक दारले घटनामा आठ पाकिस्तानी नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् भने अन्य ३५ जना घाइते भएको जानकारी दिएका छन्।

यता, भारतीय सेनाका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा कश्मीर क्षेत्रमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको ज्यान गएको बताएका छन्। दुवै देशका सीमावर्ती क्षेत्रमा स्कूल र कलेजहरू अस्थायी रूपमा बन्द गरिएका छन्।

सुरक्षात्मक उपायस्वरूप भारतका विभिन्न एयरलाइन्सहरूले यात्रा सल्लाह (Travel Advisory) जारी गरेका छन्। ‘अपरेसन सिन्दूर’ सुरू भएपछि क्षेत्रीय सुरक्षा संवेदनशीलता बढेको देखिएको छ, र अन्तर्राष्ट्रिय समुदायले पनि परिस्थिति नजिकबाट नियालिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?