जनकपुरमा जानकी नवमी भव्यताका साथ मनाइँदै, सीताको आदर्श जीवनलाई स्मरण

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, वैशाख २३ गते ।मिथिला संस्कृतिको मौलिक पर्व जानकी नवमी आज जनकपुरधाममा धुमधामका साथ मनाइँदै छ। त्रेता युगमा राजा जनकले अनिकालको बेला यज्ञ गरी हलो जोत्ने क्रममा पृथ्वीबाट उत्पत्ति भएकी जानकी (सीता) को जन्म स्मरणमा यो पर्व मनाउने परम्परा रहेको छ। जानकी नवमीको अवसरमा जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजा, शोभायात्रा, भजनकिर्तन, वधैया गायन, दीपोत्सव लगायत धार्मिक अनुष्ठान गरिँदैछ। नेपाल र भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालु तथा साधुसन्त जनकपुरधाम आइपुगेका छन् भने ऐतिहासिक दुधमती नदीमा स्नान गर्ने परम्पराअनुसार भक्तजनको भिड देखिएको छ। मधेश प्रदेश सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएको छ।

सीता जयन्तीका रूपमा मनाइने यो दिनलाई धर्मशास्त्र र वेद–पुराणमा उल्लेख गरिएअनुसार आदर्श नारी सीताको योगदान सम्झनाको दिनका रूपमा लिइन्छ। धर्मशास्त्रविद् अनुसार लक्ष्मी स्वयं सीताको रूपमा पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ। सत्यवती, पतिव्रता र आदर्श नारीका रूपमा सीताको जीवन रामायण लगायत वैदिक ग्रन्थहरूमा आदर्शको प्रतीकका रूपमा वर्णन गरिएको छ। वनवास, रावणद्वारा हरण, अयोध्याको त्याग र अन्त्यमा पृथ्वीमा लोप हुने घटनाले सीतालाई नारी समर्पण, सहनशीलता र नैतिकताको प्रतिमूर्ति बनाएको छ। देशभरका रामजानकी मन्दिरहरूमा विशेष पूजा–आराधना गरिँदैछ भने काठमाडौंको बत्तीसपुतली र गोकर्णेश्वरस्थित मन्दिरहरूमा समेत विशेष कार्यक्रम आयोजना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?