सीमा हैदरमाथि मानसिक असन्तुलित युवकद्वारा आक्रमण, गला थिच्ने र कुटपिटको प्रयास
3 दिन पहिले प्रकाशित

एजेन्सी, वैशाख २१ गते । ग्रेटर नोएडाको रबूपुरा क्षेत्रमा बसोबास गर्दै आएकी पाकिस्तानी नागरिक सीमा हैदरमाथि शनिबार साँझ एक मानसिक असन्तुलित युवकले आक्रमण गरेको घटना सार्वजनिक भएको छ। गुजरातको सुरेन्द्रनगर जिल्लाका तेजस झानी नामका युवकले घरमा जबरजस्ती पसेर हैदरको गला थिच्ने प्रयास गरेका थिए र थप्पड समेत हानेका थिए।
घटनाका बेला सीमा हैदरले चिच्याउँदै सहयोग मागेपछि उनका परिवारजन तथा छिमेकीहरू घटनास्थलमा पुगेका थिए। उनीहरूले तत्काल युवकलाई नियन्त्रणमा लिएर कुटपिट गरेपछि प्रहरीलाई खबर गरेका थिए। पछि प्रहरीले उक्त युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार युवक शनिबारै गुजरातबाट रेलमार्फत दिल्ली आएका थिए र विभिन्न साधन चढ्दै रबूपुरा पुगेका थिए। जब उनी सीमा हैदरको घर पुगे, त्यसबेला ढोका बन्द थियो। उनले घरको ढोकामा लात हानेर आवाज गरेपछि सीमा स्वयं ढोका खोल्न आइन्। ढोका खोल्ने वित्तिकै युवकले उनको गला समातेर थिच्ने प्रयास गरे र त्यसपछि थप्पड प्रहार गरे।
घटनापछि एसीपी सार्थक सेंगरले दिएको जानकारी अनुसार प्रारम्भिक अनुसन्धानमा युवक मानसिक विक्षिप्त रहेको पाइएको छ। युवकका परिवारलाई प्रहरीमार्फत जानकारी दिइएको छ र थप अनुसन्धान भइरहेको छ।
यो घटनाले सामान्य नागरिकको सुरक्षामा प्रश्न उठाएको छ। मानसिक असन्तुलित व्यक्ति यसरी सजिलै कसैको घरमा पसी आक्रमण गर्न सक्ने अवस्था हुनु आफैँमा चिन्ताको विषय हो।
कमेन्ट गर्नुहोस्
view comments