सिरहामा मोटरसाइकलको विवादले खुकुरी प्रहार, तीन पक्राउ, एक फरार
20 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १९ गते । सिरहाको लहान नगरपालिका–३ दंग्राहा टोलमा मोटरसाइकलले छोएको विषयलाई लिएर भएको विवाद हिंसात्मक बनेपछि २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार गरिएको छ। गत बुधबार जिवछ महतोका छोरा मनिष महतोले चलाएको मोटरसाइकलले देवकुमारलाई छोएको विवादलाई लिएर झगडा हुँदा एक समूहले उनीमाथि कुटपिट र खुकुरी आक्रमण गरेको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा जिवछ महतोको परिवारका सदस्यहरू नै आक्रमणमा संलग्न देखिएका छन्।
घटनापछि प्रहरीले देवकुमारमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा जिवछ महतो, उनकी पत्नी सीतादेवी महतो र छोरा मनिष महतोलाई पक्राउ गरेको छ। तर, खुकुरी प्रहार गरेको आरोपमा रहेका १९ वर्षीय मुकेश महतो भने फरार रहेका छन्। उनलाई पक्राउ गर्न प्रहरी खोजीमा जुटिरहेको बताइएको छ। घाइते देवकुमारको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ भने उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments