रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा गुठी संस्थानको चर्को भाडा माग, प्रदेश सरकार आक्रोशित

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १८ गते ।  जनकपुरधाममा निर्माणाधीन रामजानकी बहुउदेश्यीय अन्तर्राष्ट्रिय रंगशालाको काम गुठी संस्थानको चर्को लिज भाडाका कारण रोकिएको छ। मधेश प्रदेश सरकारले जनकपुर–१४ स्थित गुठी संस्थानको १७ बिघा जग्गा २५ वर्षका लागि लिजमा लिएर रंगशाला निर्माण गर्ने तयारी गरिरहेकै बेला गुठी संस्थानले वार्षिक ४९ लाख ९० हजार रुपैयाँ भाडा मागेको छ, जुन हरेक वर्ष १० प्रतिशतले बढाइने उल्लेख गरिएको छ।

गुठी संस्थानको यस मागप्रति प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले तीव्र असन्तोष जनाएका छन्। मन्त्री जयसवालले रंगशाला निर्माण खेलकुद क्षेत्रको भविष्यसँग जोडिएको बताउँदै गुठी संस्थान लचिलो नहुने हो भने कानुनी मार्गबाट अघि बढ्ने चेतावनी दिएका छन्। रंगशालाको डीपीआरमा फुटबल, क्रिकेट, हक्की, कब्बडी, खोखो, कुस्ती तथा इन्डोर खेलका लागि छुट्टाछुट्टै संरचना निर्माणको योजना समावेश छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?