मिथिलामा अक्षय तृतीयाका अवसरमा सातु र सर्वतले बटुवाको स्वागत
जनकपुरधाम, वैशाख १७ गते । आज मिथिला क्षेत्रमा विशेष पर्व अक्षय तृतीया हर्षोल्लासका साथ मनाइँदैछ, जहाँ बटुवाहरूलाई सातु र सर्वत दान गर्ने परम्परा अनुसार स्वागत गरिँदैछ। बैशाख शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा बिहानैदेखि मिथिलानीहरू चोकचोकमा जौको सातु र सक्खर, मिश्री, मरिच मिसाइएको शीतल सर्वत लिएर बसेका छन्। सातु-सर्वत दान गर्दा पुण्य मिल्ने विश्वास रहेको छ, र जात, धर्म, सम्प्रदाय तथा लिङ्गको भेद नगरी सबैलाई यो दान गरिन्छ। वृद्धा जानकीदेवी भन्छिन्, “गर्मीमा बाटो हिँड्दा भोजनपानी समयमै पाउँदैनन्, सातु र सर्वत खाँदा बटुवाले आशिष दिन्छन्।”
अक्षय तृतीयालाई भगवान् शिव र पार्वतीको विवाह दिवसका रूपमा पनि मानिन्छ र यस दिन गरिब तथा ब्राह्मणलाई अन्न, वस्त्र, स्वर्ण दान गर्दा सुख, सौभाग्य र धनवृद्धि हुने धार्मिक मान्यता रहेको छ। मिथिला परम्पराका जानकार प्राचार्य हेमनारायणलाल कर्णका अनुसार भविष्य पुराणमा समेत यस पर्वको उल्लेख गरिएको छ। गर्मीमा शरीर शिथिल हुने भएकाले चिनी, सक्खर र जौंको सातु प्रयोगले स्वास्थ्य लाभ मिल्ने जनविश्वास छ। यसै दिन घर निर्माण, अन्नप्राशन, विवाहलगायत शुभकार्यका लागि कुनै साइत हेर्नु नपर्ने मिथिलाको परम्परागत मान्यता पनि छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments