कश्मीर हमलाविरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन, पाकिस्तानी सेनाप्रमुखको पुतला दहन

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १६ गते । भारतको कश्मीरमा भएको आतंकवादी आक्रमण र त्यसअघि पाकिस्तानी सेनाप्रमुख असीम मुनिरले दिएको विवादास्पद अभिव्यक्तिविरुद्ध जनकपुरधाममा मंगलबार विरोध प्रदर्शन गरिएको छ। नेपाल–भारत खुला सिमा संवाद समूह र शहीद संजय चौधरी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा विरोध जुलुस निकालिएको हो।

पाकिस्तानी सेनाप्रमुखले हिन्दु–मुस्लिमबीच द्वन्द्व चर्काउने आशयको अभिव्यक्ति दिएका केही दिनमै कश्मीरमा हिन्दू तीर्थयात्री लक्षित हमला भएको घटनाले आक्रोश थपिएको प्रदर्शन आयोजकहरूले बताएका छन्। प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले पाकिस्तान र सेनाप्रमुख मुनिरको पुतला जलाउँदै ती अभिव्यक्तिको कडा विरोध जनाए।

संवाद समूहका अध्यक्ष राजीव झाले आतंकवादको कुनै जात, धर्म, मुलुक नहुने बताउँदै शान्ति र मानवताविरुद्ध हुने यस्ता क्रियाकलापविरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए। विरोध कार्यक्रममा जनकपुरधामका मुस्लिम समुदायका अगुवा र युवाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूले आतंकवाद र त्यसलाई समर्थन गर्ने सोचविरुद्ध दृढ आवाज उठाउनु पर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?