सिरहा नगरपालिकाको पाठ्यपुस्तक सम्बन्धी निर्णयमा उच्च अदालतको रोक

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १६ गते । सिरहा नगरपालिकाले तोकेरै लागू गर्न खोजेको पाठ्यपुस्तक सम्बन्धी निर्णयमा उच्च अदालत, राजविराजले रोक लगाएको छ। न्यायाधीश सरला कुमारी पाण्डे र माधव धितालको संयुक्त इजलासले आइतबार अन्तरिम आदेश जारी गर्दै पालिकाले चैत १८ गते गरेको निर्णय र चैत २० मा जारी गरेको सूचना कार्यान्वयन नगर्न नगराउन आदेश दिएको हो।

नगरपालिकाले नेपाली, अंग्रेजी, अनिवार्य गणित, विज्ञान तथा प्रविधि र सामाजिक अध्ययन विषयका लागि तक्षशिला, जनक शिक्षा सामग्री केन्द्र, टाइम्स, वेदान्त, विद्यार्थी र रिडमोर पब्लिकेशनका किताब मात्र प्रयोग गर्न निर्देशन दिएको थियो। साथै, उक्त निर्देशन नमान्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी पनि दिइएको थियो। तर शिक्षा नियमावली २०५९ को नियम ६(क) अनुसार नेपाल सरकारबाट स्वीकृत कुनै पनि पब्लिकेशनको पुस्तक प्रयोग गर्न पाइने प्रावधान छ। यसविरुद्ध प्याब्सन सिरहाको तर्फबाट भरतकुमार यादवले उत्प्रेषणयुक्त निषेधाज्ञा माग गर्दै रिट निवेदन दायर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?