जनकपुरमा जानकी जन्मोत्सवका भव्य कार्यक्रम सुरु, शाही स्नानदेखि दीपोत्सवसम्म विशेष आयोजना

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १६ गते । पवित्र जानकी जन्मोत्सवको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रमहरू सुरु भएका छन्। मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ। साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ।

जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीसम्म जानकीको शाही स्नान गरिनेछ। त्यस दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिनेछ। जानकी जन्मदेखि छठिहारसम्म हरेक साँझ ७ बजे मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइनेछ। साथै, वैशाख २४ गते मटकोर कार्यक्रम र वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ। सोही दिन मानस मोहिनी सध्या देवीबाट विशेष रामकथा वाचन कार्यक्रमसमेत गरिनेछ। दासका अनुसार जानकी जन्मोत्सवलाई विशेष धुमधामका साथ सम्पन्न गर्न व्यापक तयारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?