धनुषामा दुई ट्रक ठोक्किँदा दुर्घटना, एक ट्रकमा आगलागी

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १४ गते । वैशाख १४ गते बिहान धनुषा नगरपालिका–६ मालटोल चौकमा दुई ट्रक एक आपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। पूर्वतर्फ गइरहेको प्र. ०२–०३–००१ख ०७१५ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको ना ६ ख ३४६३ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। ठक्करपछि ना ६ ख ३४६३ नम्बरको ट्रकमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको छ। दुर्घटनामा दुवै ट्रकका चालक र सहचालक घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि जनकपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिनुभयो।

दुर्घटनापछि केही समयसम्म सो क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको थियो। हाल प्रहरी र स्थानीयवासीको सहयोगमा ट्राफिक व्यवस्थापन तथा आगलागी नियन्त्रणको काम सम्पन्न गरिएको छ। दुर्घटनाको कारण र क्षतिको थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?