"पहलगाम आक्रमण पीडितलाई प्रधानमन्त्री मोदीको श्रद्धाञ्जली, आतंकविरुद्ध लड्न भारत तयार"

23 घन्टा पहिले प्रकाशित

एजेन्सी, वैशाख १४ गते । प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार 'मन की बात' को १२१औं श्रृंखलामा पहलगाममा भएको आतंकवादी आक्रमणका पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गरे। प्रधानमन्त्री मोदीले भने, “यस घटनामा मानिसहरूको ज्यान गएकोमा म निकै दुःखी छु।” उनले भारत आतंकवाद विरुद्ध लड्न पूर्ण रूपमा तयार रहेको पनि स्पष्ट पारे।

प्रधानमन्त्री मोदीले भने, “पहलगाममा भएको आतंकवादी हमला तिनीहरूको निराशा देखाउँछ, जसले आतंकवादलाई बढावा दिन्छन्। जब कश्मीरमा शान्ति फर्कंदै थियो, विद्यालय र कलेजहरू राम्ररी चल्न थालेका थिए, लोकतन्त्र सुदृढ हुँदै थियो, पर्यटन फस्टाउँदै थियो र युवाहरूका लागि नयाँ अवसरहरू सिर्जना भइरहेका थिए, त्यसबेला देश र जम्मु-काश्मीरका शत्रुहरूलाई यो मन परेन। आतंककारीहरूले फेरि कश्मीरलाई बर्बाद पार्न चाहेका छन्।”

पीडितलाई न्याय दिलाइनेछ - प्रधानमन्त्री मोदी
प्रधानमन्त्री मोदीले भने, “म पहलगाम आक्रमणका पीडितहरूलाई पुनः विश्वास दिलाउन चाहन्छु कि उनीहरूलाई न्याय अवश्य मिल्नेछ।” उनले थपे कि २२ अप्रिलको आक्रमणले सम्पूर्ण देशवासीको मन दुखाएको छ र प्रत्येक भारतीय पीडित परिवारसँग गहिरो सहानुभूति राख्छ। उनले भने, “भारतका नागरिकहरू यो आक्रमणप्रति अत्यन्त आक्रोशित छन्।”

प्रधानमन्त्रीले भने, “पहलगाममा भएको हमला आतंकवादलाई बढावा दिनेहरूको कायरता र निराशा हो। जब कश्मीर शान्ति र विकासको बाटोमा अघि बढ्दै थियो, आतंकवादीहरूले ठूलो साजिश रचे। तर, भारतको एकता नै आतंकवादविरुद्धको हाम्रो सबैभन्दा ठूलो शक्ति हो। १४० करोड भारतीयको एकता नै हाम्रो निर्णायक हतियार हो।”

प्रधानमन्त्री मोदीले भारतको अन्तरिक्ष क्षेत्रको प्रगतिको पनि चर्चा गरे। उनले भने, “हामीले एकै मिशनमा १०४ स्याटलाइट प्रक्षेपण गरी विश्व रेकर्ड बनाएका छौं र चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश पनि भएका छौं। अब भारत गगनयान, SpaDeX, चन्द्रयान-४, भेनस अर्बिटर मिशन र मङ्गल ल्यान्डर मिशन जस्ता महत्वपूर्ण परियोजनाहरूमा अघि बढिरहेको छ।”

उनले म्यानमारमा गएको विनाशकारी भूकम्पपछि भारतले तत्काल 'अपरेसन ब्रह्मा' सुरु गरेर सहयोग गरेको प्रसंग पनि उल्लेख गरे। “'वसुधैव कुटुम्बकम्' हाम्रो परम्परा र मूल्यमान्यताको प्रतिनिधित्व हो। भारत सधैं मानवताको सेवामा अग्रसर रहन्छ,” प्रधानमन्त्री मोदीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?